News That Matters

पाल्पा १ नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनारीको चुनावी अभियान पर्यटकीय स्थल रिमिघाबाट सुभारम्भ


पाल्पा, पाल्पा क्षेत्र नं. १ नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार हुम सुनारी मगरले आफ्नै जन्मथलोरम्भा गाउँपालिका २, झोकेदीबाट चुनाव प्रचार प्रसार अभियान सुरु गर्नु भएको छ । रिमिघा पर्यटकीय क्षेत्रबाट उहाँले आफ्नै जन्मथलो रम्भा गाउँपालिका–२, झोकेदीस्थित जिल्लाकै महत्वपूर्ण पर्यटकीय स्थल रिमिघा पर्यटकीय क्षेत्रबाट अभियानको औपचारिक शुभारम्भ गर्नुभएको हो।

चुनावी अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उम्मेदवार सुनारीले सुशासन स्थापना, अनियमितता र भ्रष्टाचारको अन्त्य तथा व्यवस्था परिवर्तन नै आफ्नो उम्मेदवारीको मूल उद्देश्य रहेको बताउनुभयो। उहाँले वर्तमान निर्वाचन प्रणाली खर्चिलो र गलत प्रवृत्तिले ग्रसित भएको उल्लेख गर्दै यस्तो प्रणालीको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था प्रमुख एजेन्डा रहेको स्पष्ट पार्नुभयो।

सुनारीले जेन्जी, जेनजेट का माग र आफूले उठाएका एजेन्डा समान रहेको दाबी गर्दै यस निर्वाचनमा आफूलाई अत्यधिक मत दिएर विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो। उहाँले पूर्वी पाल्पा विकासको दृष्टिले पछाडि परेको बताउँदै भौतिक पूर्वाधार, पर्यटन विकास, बढ्दो बसाइँसराइ न्यूनीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्न आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्नुभयो ।

गत ३५ वर्षदेखि एउटै पार्टीलाई विजयी गराइँदै आए पनि अपेक्षित विकास हुन नसकेको र समस्याहरू जस्ताको तस्तै रहेको भन्दै अब योग्य, सक्षम र जनताका सच्चा प्रतिनिधिलाई जिताउने समय आएको सुनारीको भनाइ थियो । उहाँले विगत लामो समयदेखि सामाजिक तथा विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै मतदातालाई कुनै प्रलोभनमा नपरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पाल्पा क्षेत्र नं. १ बाट विजयी गराउन आग्रह गर्नुभयो।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पाल्पा क्षेत्र नं. १ बाट ९ राजनीतिक दल र ४ स्वतन्त्र उम्मेदवार गरी कुल १३ जना चुनावी मैदानमा उत्रिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *