मौलिक संस्कृतिको संरक्षणमा स्थानीयको पहल
पाल्पा — पाल्पाको तिनाउँ गाउँपालिका–१ आरखुदीमा पाँचौँ न्वागी महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो शान—जोगाऔँ तिनाउँको पहिचान’ भन्ने मूल नाराका साथ आर्खोडी मगर भेगाको आयोजनामा कार्यक्रम आगामी मंसिर ७ गते भव्य रूपमा सम्पन्न गरिने तयारी अन्तिम चरणमा पुगेको प्रचार–प्रसार प्रमुख अमर सुनारीले जानकारी दिनुभयो। सुनारीका अनुसार समुदायमा परम्परागत रुपमा प्रचलित न्वागी खोने मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्दै आइएको हो । मगर समुदायले हरेक वर्ष नयाँ अन्नलाई देवतामा अर्पण गर्दै सुरु गर्ने ‘न्वागी पर्व’ लाई विशेष महत्वका साथ मनाउने चलन छ । न्वागी पर्वले प्रकृतिप्रतिको कृतज्ञता, समुदायबीचको एकता र सांस्कृतिक पहिचानको निरन्तरता जोगाउने भूमिका खेलेको मानिन्छ। महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गायक बसन्त लम्साल र गायिका सिता रानाको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै स्थानीय सांस्कृतिक विविधतालाई उजागर गर्ने उद्देश्यले सोरठी, ठूलो नाच, पञ्चेबाजा लगायत स्थानीय कलाकारहरूको प्रस्तुति प्रस्तुत गरिनेछ। स्थानीय संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा पनि यस महोत्सवले महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको छ। समुदायको सक्रिय सहभागिता, युवा पुस्ताको उत्साह र धार्मिक–सांस्कृतिक महत्वले तिनाउँलाई सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
